यी बैंक लामो समयदेखिको समस्यामा वा ऋण असुलीमा व्यवधान भएकाले यो अवस्थामा पुगेका भने होइनन् । उच्च ब्याजदर वृद्धिका कारण बन्ड (ऋणपत्र) को मूल्य निकै तल झरेको अवस्थामा एकैपटक ठूलो निक्षेप फिर्ता गर्नुपर्दा समस्यामा परेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सन् १९८३ मा स्थापना भएको सिलिकन भ्याली चार दशक पुरानो अमेरिकाको १६ औं ठूलो बैंक हो । क्यालिफोर्नियामा मुख्यालय रहेको यो बैंक टाट पल्टिने अवस्थामा पुगेकाले बन्द गर्नुपरेको नियामक निकाय एफडीआईसीको भनाइ छ । बैंक बन्दका पछिल्ला घटनालाई सन् २००८ को मन्दीपछिकै अमेरिकी बैंकिङ क्षेत्रमा अर्को ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा वासिङ्टन म्युचअल टाट पल्टिएको घटनापछिको यो सबैभन्दा ठूलो संकट भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
मुद्रास्फीति अकासिएसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले निरन्तर ब्याजदर बढाइरहेको छ । करिब डेढ वर्षअघि ०.२ प्रतिशत हाराहारीमा रहेको त्यहाँको ब्याजदर निरन्तर बढिरहँदा अहिले ४.७५ प्रतिशत पुगिसकेको छ । झन्डै चार दशकयताकै उच्च मूल्यवृद्धि नियन्त्रणका लागि भन्दै केन्द्रीय बैंकले निरन्तर ब्याजदर वृद्धिको निर्णय गरेपछि यहाँको ‘बन्ड मार्केट’ हालसम्मकै न्यून बिन्दुमा ओर्लेको छ । ऋणपत्रमा अमेरिकाका धेरै बैंकले ठूलो लगानी गरेका छन् । बन्ड मार्केटबाट नोक्सानी व्यहोरिरहेका बेला सिलिकन बैंकमा एक्कासि निक्षेपकर्ताले आफ्नो पैसा फिर्ता माग्दै आए, त्यसले संस्थामा संकट आएको हो । निक्षेपकर्ताको निक्षेप फिर्ता गर्नकै लागि सिलिकनले ठूलो नोक्सान व्यहोरेर न्यून मूल्यमा बन्ड बिक्री गरेको छ ।
बन्ड मार्केटमा आएको गिरावटकै कारण सिलिकन भ्याली बैंकले आफ्नो पोर्टफोलियोमा करिब २ अर्ब अमेरिकी डलर घाटा खाएर बन्ड बिक्री गरेको छ । यो घटनाले एकै दिन सिलिकन बैंकको सेयर मूल्यमा ७० प्रतिशतसम्मले गिरावट आएको थियो । घाटा पूर्तिका लागि यो बैंकले गत बुधबारमात्र ठूलो हिस्सामा बन्ड (सेयर) बेचेको र करिब २.२५ बिलियन बराबरको नयाँ सेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला सेयरधनी, बचतकर्ताले आफ्नो लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए । यही नोक्सानीका कारण तरलता व्यवस्थापन गर्न नसक्दा सिलिकन बैंकमा संकट आएको हो ।
छोटो समयमा बैंक समस्यामा पर्नुको पछि अल्पकालीन अवधिको निक्षेप धेरै हुनु र तरलता अवस्था नाजुक हुनुलाई प्रमुख कारकका रूपमा हेरिएको छ । सिलिकन भ्याली बैंकले मुख्य गरेर प्रविधि, व्यवसायी, भेन्चर क्यापिटलिस्ट र रियल इस्टेटमा लगानी गरेको छ । तीमध्ये पनि ठूलो लगानी प्रविधि क्षेत्रमा थियो । गत डिसेम्बर ३१ सम्म बैंकको कुल सम्पत्ति २०९ बिलियन डलर बराबर थियो । एफडीआईसीका अनुसार क्यालिफोर्निया र म्यासाचुसेट्समा गरी बैंकका १७ शाखा र विश्वका विभिन्न देशमा गरी करिब ८ हजार ५ सय कर्मचारी छन् ।
यस्तै, अमेरिकाको अर्को वित्तीय संस्था सिग्नेचर बैंक पनि बन्द भएको छ । त्यहाँको नियामक निकायहरूले आइतबार साँझ विज्ञप्ति निकालेर उक्त बैंक बन्द भएको घोषणा गरेका हुन् । अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले संयुक्त विज्ञप्ति जारी गर्दै सम्भावित बैंकिङ संकट रोक्नका लागि न्युयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएको जानकारी दिएका हुन् । यो बैंक बन्द भएसँगै अमेरिकामा फेरि ठूलो बैंकिङ असफलता देखिएको विज्ञप्तिमा उल्लेख छ ।
source: ekantipur
